आज बडादसैँको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिँदै

होमल्याण्ड खबर

२०७८ आश्विन २४ गते, आईतवार ०७:४९ मा प्रकाशित

बडा दसैँ अन्तर्गत आज नवरात्रको चौँथो दिन । यस दिन दुर्गा भवानीका नौ स्वरुपमध्ये कुष्माण्डा भगवतीको विशेष पूजा आराधना गरिदैँछ ।

सूर्य मण्डलमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कूष्माण्डा भनिएको हो ।

कुष्माण्डा भगवतीका लागि कुभिण्डोको वलि अति प्रिय मानिएको छ । चौथो दिन यिनको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त गर्ने विश्वास गरिन्छ ।

कुष्माण्डा भगवतीको पूजाले वायु तत्वको सन्तुलन शरीरमा ठीक हुने शास्त्रीय वचन छ । पूजापछि मालपूवाको प्रशाद चढाउने र बडेर खानाले दिमाग तीब्र हुने धार्मिक मान्यता छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।

आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

बडादसैँको नवरात्रमा पहिलो दिन घटस्थापना गरि शैलपुत्रीको पूजा गरिन्छ । यस्तै, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।