सुकुम्बासी र सुरक्षाकर्मीबिचको झडपमा ४ जनाको मृत्यु, सुरक्षा समन्वय समितिको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ आश्विन २५ गते, सोमबार १०:४९ मा प्रकाशित

अहिले पनि बुटवलको मोतीपुरमा कर्फ्यु लागेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो ।

त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि प्रहरीले गोली चलाएको थियो।

झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ भने झडपमा पाँच जना प्रहरीसहित ९ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

यस्तै, ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीय बासिन्दा प्रहरीमाथि जाइलागेका थिए ।