३ जेष्ठ २०८३, आईतवार
सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।
बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।
पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ ।


सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । तीन दिनदेखिको लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।