पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते,१० गम्भीर

होमल्याण्ड खबर

२०७८ कार्तिक ८ गते, सोमबार १३:३८ मा प्रकाशित

पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था चिन्ताजनक छ ।

फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोँचमा झरेको थियो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरजिल्ला अस्पतालसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चिन्ताजनक अवस्था रहेका १० जनालाई थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।