९ मंसिर २०८१, आईतवार
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ। विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो । प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोशी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।
टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी २०७९को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति उत्साहजनक देखिएको बताए ।
प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताए ।
ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरु बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ। निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।