३ जेष्ठ २०८३, आईतवार
नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई अदालतको गरिमाको रक्षा गर्न आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै महासंघले प्रधानन्यायाधीश जबराको नाम उल्लेख नगरी जिम्मेवार बन्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ ।’


मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति पनि महासंघले चासो प्रकट गरेको छ । महासंघले संसद्, सरकार र राजनीतिक दललाई सर्वोच्चमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल समेत गरेको छ ।
नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायलय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्ने मान्यतामा महासंघ अडिग रहेको जनाएको छ ।
