९ मंसिर २०८१, आईतवार
नेपाल राष्ट्र बैंकले पुराना इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बेच्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा रहेको पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्न चाहेको बताएको हो ।
बैंकका अनुसार पुराना अफिस इक्विपमेन्ट, कम्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभी, प्रोजेक्टर, एसी लायत फर्निचरहरु टेबल, कुर्सी, सोफासेट र र्याक, फुटकर ब्याट्री तथा युपिएस, तामाको तार आदि बेच्न लागेको हो ।
कोहि इच्छुक खरिदकर्ताले सूचना जारी भएको मितिले १५ दिनभित्र न्यूनतम ६ लाख ६३ हजार ५२३ रुपैयाँ ५७ पैसामा खरिद बोलपत्र हाल्न बैंकले आह्वान गरेको छ । तर, सार्वजनिक बोलकबोल गर्ने खरिदकर्ताले कबोल गर्दा कुल खरिद रकमको न्यूनतम ५ प्रतिशत रकम पहिले नै दरखास्तसँगै धरौटी बुझाउनुपर्ने बैंकले बताएको छ ।
मंसिर १९ गते आह्वान भएको बोलकबोल १५ दिनसम्म जारी रहने र आगामी पुस ५ गते दिनको १ बजे अन्तिम खरिदकर्ताको टुंगो लगाउने बैंकले जनाएको छ ।