नेपालद्वारा भुटान ४–० गोलले पराजित

होमल्याण्ड खबर

२०७८ पुष २ गते, शुक्रबार २१:३६ मा प्रकाशित

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिमा नेपालले दोस्रो जित निकालेको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा भुटानलाई ४–० गोलले हराउँदै नेपाल विजयी भएको हो । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमै नेपालकी मेनुकाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।  यस्तै १८औँ मिनेटमा कुशुम, २१औँ मिनेटमा रजनी र ७२औ मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो गोल गरेसँगै नेपाल ४–० गोलले विजयी भयो ।

यो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । आफ्नो तीन खेलमा दुईमा जीत र एकमा बराबरी गरेको नेपालले सात अंक जोडेको छ । पराजित भएको भुटान उपाधि होडबाट बाहिरिसकेको छ ।

आयोजक बंगलादेशको पनि तीन खेलबाट सात अंक नै भएको छ भने भारतले ६ अंक जोडेको छ ।

नेपालले अब आइतबार भारतसँग खेल्ने छ । सोही खेलबाट नेपालको फाइनल यात्राको टुंगो लाग्नेछ ।

राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल पुस ६ गते हुनेछ ।