साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले कम्तीमा भारतविरुद्ध बराबरी गर्नुपर्ने

होमल्याण्ड खबर

२०७८ पुष ४ गते, आईतवार १३:०४ मा प्रकाशित

नेपाली महिला टोलीले यु–१९ महिला साफ च्याम्पियनसिपमा आइतबार भारतविरुद्ध खेल्दै छ। नेपाललाई फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा आज भारतविरुद्ध कम्तिमा बराबरी गर्नुपर्ने छ ।

तीन खेलबाट सात अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ। समान सात अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ। पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोविन प्रणालीमा खेलाइएको छ। शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तीन खेलबाट ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ। आजै बंगलादेशले कमजोर देखिएको श्रीलंकाविरुद्ध खेल्ने छ। प्रतियोगितामा जित निकाल्न नसक्ने श्रीलंका एकमात्र टोली हो। त्यसैले बंगलादेशले श्रीलंकालाई सहजै हराउने अनुमान लगाउन सकिन्छ। बंगलादेशले जितेमा उसको दश अंक हुनेछ।

त्यसकारण नेपाल र भारतबीचको नतिजाले अर्को फाइनल खेल्ने टोलीको टुंगो लगाउनेछ। नेपालले जित वा बराबरी गरेमा फाइनलमा स्थान बनाउनेछ । पराजित भए नेपाल बाहिरिनेछ। त्यसैले नेपाललाई आज कम्तिमा बराबरी गर्नुपर्नेछ।

नेपाल पहिलो संस्करणको उपविजेता टोली हो। नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। यसपटक नेपाल बंगलादेशसँग बदला लिएर उपाधि उचाल्ने लक्ष्यसाथ बंगलादेश गएको छ। त्यसकारण उपाधि सम्भावना कायम राख्न आज भारतलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ।

२०१८ मा भुटानमा सम्पन्न पहिलो संस्करणमा नेपालले भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको थियो। निर्धारित समयमा भने १–१ को बराबरी खेलेको थियो।