२ जेष्ठ २०८३, शनिबार
नेपाल पत्रकार महासंघले प्रतिनिधि सभा बैठकको समाचार सङ्कलनमा संसद् सचिवालयले रोक लगाइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले मङ्गलबार विज्ञप्ति जारी गरी उक्त घट्नाको विरोध जनाएको हो ।
मङ्गलबार चलेको प्रधिनिधि सभा बैठकको समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्षमा ‘माथिको आदेश’भन्दै सुरक्षाकर्मीले प्रवेश गर्न रोक लगाएका थिए। यसअघि नियमित रूपमा पत्रकारलाई समाचार सङ्कलनमा सहज हुँदै आएको थियो ।


‘सार्वजनिक सरोकारको विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारलाई एकाएक समाचार सङ्कलनमा रोक लगाउनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गरी आगामी दिनमा यस्ता कार्य नदोहोर्याउन र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ।’
यसैगरी संसदीय मामिला पत्रकार समाजले पनि पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार सङ्कलनमै रोक लगाउने कार्यले लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको जनाएको छ।
समाजका सचिव जयसिंह महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचार सङ्कलनमा सहजीकरण गर्नुको सट्टा संघीय संसद् सचिवालयबाट पटक-पटक रोक लगाइनु दु:खद् हो। संसद् लोकतन्त्रको सर्वोच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार सङ्कलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ।’