२ जेष्ठ २०८३, शनिबार
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण मध्यम रहेको बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको छ। कोरोना भाइरसका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरु अस्पताल भर्ना गर्नुपर्ने अवस्था कम आएको प्रारम्भिक तथ्यहरुले देखाएका हुन्।
विगतका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई अस्पताल भर्ना गर्नुपर्ने वा गम्भीर बिरामी पर्ने अवस्था ३० देखि ७० प्रतिशतसम्म कम रहेको देखिएको हो। तर ओमिक्रोनको संक्रमणको प्रभाव मध्यम हुने देखिए पनि संक्रमण भने तीव्र गतिमा फैलिँदा अस्पतालहरु समस्यामा आउन सक्ने भन्दै चेतावनी दिइएको छ ।


बेलायतमा बुधबार एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भयो। यो अहिलेसम्मकै धेरै हो। पछिल्लो समय पुष्टि भएका संक्रमितहरु अधिकांश ओमिक्रोन भेरियन्टका छन्। ओमिक्रोन भेरियन्टको संक्रमण कुन तहसम्म गम्भीर हुन सक्छ भन्ने जानकारी प्राप्त हुने क्रम आउँदै गर्दा त्यसविरुद्ध कसरी लड्ने भन्ने तय गर्न पनि सहज हुने विज्ञहरुले बताएका छन् ।