धनुषामा जनमत पार्टी र प्रहरीबीच झडप, ३ सुरक्षाकर्मी घाइते

होमल्याण्ड खबर

२०७८ पुष १८ गते, आईतवार १५:२५ मा प्रकाशित

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा जनमत पार्टी र प्रहरीको बीचमा झडप हुँदा ३ सुरक्षाकर्मी घाइते भएका छन् । जनमत पार्टीले अवरुद्ध गरेको राजमार्ग खुलाउन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानाकारी दिए ।

आन्दोलनकारीको ढुंगा र लाठी प्रहारबाट २ जना प्रहरी जवान र सशस्त्र प्रहरीका १ जना जवान घाइते भएका छन् ।

झडपमा प्रहरीले १६ सेस अश्रुग्याँस र ११ राउण्ड रबरको गोली प्रहार गरेको छ । रबरको गोली लागेर सिके राउत नेतृत्वको जनमत पार्टीका ४ जना कार्यकर्ता घाइते भएका छन् । किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन माग गर्दै जनमत पार्टीले सडकमा टायर बालेर प्रदर्शन गरेको थियो ।