मल खरिदका लागि जिटुजि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी

होमल्याण्ड खबर

२०७८ पुष २३ गते, शुक्रबार १४:१९ मा प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जिटुजि मार्फत मल खरिदका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ । सम्झौता पत्रमा भौतिक उपस्थितिमा हस्ताक्षर गर्ने कि भर्चुअल गर्ने यस विषयमा दुवै पक्षको बीचमा परामर्श चलिरहेको रएक दुई दिनमा टुङ्गो लगाएर हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माका अनुसार यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको अवसरमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी मन्त्रालयको थियो । तर प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता पत्रमा हस्ताक्षर गर्ने विषयमा छलफल भइरहेको बताए ।

पाँच वर्षसम्म भारतबाट रासायनिक मल खरिद गर्ने सहमति भए अनुसार २ पक्षको बीचमा सम्झौता पत्रमा हस्ताक्षर हुने तयारी पुरा थियो तर अचानक भ्रमण स्थगित भएपछि अब के गर्ने विषयमा कृषि मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासको बीचमा समन्वय भइरहेको छ ।

मन्त्रालयले भारतबाट पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति भएको मन्त्रालयले जनाएको छ । सम्झौता पत्रमा हस्ताक्षरका लागि मन्त्रीपरिषद्ले पनि अनुमति दिइसकेको छ ।