९ मंसिर २०८१, आईतवार
मोरङ व्यापार संघले भारतको जोगवनीनजिकै बथनाहास्थित मिरगञ्ज पुल जीर्ण भई बन्द भएकोले वैकल्पिक मार्ग सञ्चालनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ । सीमावर्ती क्षेत्र मिरगन्ज पुलको विकल्प खोज्न माग गर्दै संघले सरकार समक्ष माग गरेको हो ।
साथै, संघले भीमनगर–भन्टाबारी भन्सार नाकामार्फत सवारी साधन ल्याउन पहल गरिदिन आग्रह गरेको छ । संघले अररिया जिल्लाको अररिया–कुर्सा कांटा–जोगबनीमार्गलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउनसमेत आग्रह गरेको छ । शीघ्र पुल मर्मत गरी एक लेन भएपनि सञ्चालनमा ल्याउन र त्यसो नहुँदासम्म भीमनगर–भाण्टाबारी नाकाबाट सवारी साधन आवतजावत गर्ने वातावरण बनाउन संघले अपिल जारी गरेको हो ।
मिरगञ्ज पूल क्षतिग्रस्त हुँदा सुनसरी मोरङ औद्योगिक करिडोरका लागि आयात हुने कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधि आदि उतै रोकिएका छन् । लामो समय ट्रक रोकिदा आयातित वस्तुको लागत मूल्यसमेत बढ्न जानेमा पनि संघले चिन्ता जनाएको छ ।
पुलकै कारण दैनिक १५ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व गुमिरहेको र छिटो समस्या समाधान नभए उद्योगहरुमा कच्चा पदार्थ अभाव हुने तर्फ पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैबीच संघले सो पुलको विकल्प चाँडै खोज्न माग गर्दै परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाएको छ । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्व अध्यक्ष महेशकुमार जाजूले परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।
पुल भासिदा व्यावसायीले वर्षेनी समस्या भोग्नु परेको उल्लेख गर्दै समस्याको स्थायी रुपमा सामधानका लागि सोमबार संघीय सरकारका परराष्ट्रमन्त्री खड्कालाई आग्रह गरेका छन् । व्यापार संघका प्रतिनिधिले बुझाएको पत्र बुझ्दै परराष्ट्रमन्त्री खड्काले सरकार गम्भीर रहेको र वैकल्पिक रुट खुलाउनका लागि भारतीय सरकारसँग पहल गर्ने बताए ।