११ मंसिर २०८१, मंगलवार
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।
नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् ।
भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब दुई सय मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताउनुभयो । सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो । सर्भेपछि टनकपुर तटबन्धको सिँढी (टनकपुरदेखि एक हजार मिटर उत्तरतर्फ विद्युत्गृहमा बनाएको सिँढी)लाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो ।
उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताउनुभयो । “विसं २०४०÷४२ तिर ३ नं सिमास्तम्भ महाकाली नदीको बीचमा थियो, त्यो सीमास्तम्भ वरपर गाईवस्तु चराएको छु,” उहाँले भन्नुभयो, “सीमास्तम्भ हराएका कारण लामो समयदेखि भारतले सीमा मिच्दै आएको छ ।”
भारतीय पक्षले हाल उक्त क्षेत्रमा पक्की सडक बनाउन थालेको छ । करीब एक हजार १५० मिटर सडक निर्माण गर्ने भारतको योजना छ । यस्तै तटबन्ध छेउमा टनकपुर ब्यारेज क्षेत्रमा करीब एक हजार ३०० मिटर सडक बनाउँदैछ । टनकपुर पुल र बाँध निर्माणका क्रममा महाकाली नदीको बीच भागमा रहेको ३ नं सिमास्तम्भ हराएको हो ।