अपहरणमा परेका राइडर अफलाइन राइडमा थिए : पठाओ

होमल्याण्ड खबर

२०७८ माघ १० गते, सोमबार १४:०१ मा प्रकाशित

पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको जनाइएको छ । राईलाई शनिबार राति कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्‍याएर लुटपाट गरेका थिए । राइडर प्रविण पनि अफलाइन राइड लिएको पाइएको पठाओ नेपालले बताएको हो ।

पठाओका अनुसार राईले घटना भएको दिन सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएका थिए । कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको पठाओले जानकारी दिएको छ ।

निजले बाटोमा भेटेको व्यक्तिलाई बार्गेटिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो, पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ ।