सोलुखुम्बुमा हिमपातका कारण जनजीवन प्रभावित

होमल्याण्ड खबर

२०७८ माघ १० गते, सोमबार १४:४१ मा प्रकाशित

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ ।

यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत त्यहीविधि अवलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताएका छन् ।

पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका प्रायजसो बासिन्दा चिसो छल्नकै लागि काठमाडौंलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २र३ उडानमा सीमित बनेको छ ।

खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौं गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताउनुभयो । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाण्डौ गएको उनले जानकारी दिएका छन् ।

शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी सिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले त्यहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले बताएका छन्।