ग्रामिण जनसंख्या ३३.९२ प्रतिशत , यस्ता छन् धेरै जनसंख्या भएका गाउँपालिका

होमल्याण्ड खबर

२०७८ माघ १२ गते, बुधबार १३:२९ मा प्रकाशित

नेपालको सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणअनुसार ग्रामिण जनसंख्या ३३.९२ प्रतिशत र शहरी जनसंख्या ६६.०८ कायम भएको हो । विभागका अनुसार नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको तालिकीकरण गरिएको गरिएको हो ।

विभागका अनुसार गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी रहेका छन् । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासो गाउँपालिका रहेका छन् ।

सबैभन्दा धेरै जनसख्या बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४४२ जना रहेका छन् । १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेका छन् भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेका छन् ।

२०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोले सोही अनुसार शहरी जनसंख्याको विश्लेषण गरिएको थियो । जसअनुसार राष्ट्रिय जनगणना २०६८ मा १७.०७ प्रतिशत शहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामिण जनसंख्या रहेकोमा संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गिकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामिण जनसंख्या ३६.८१ प्रतिशत पुगेको विभागको भनाइ छ ।

शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरूमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका रहेका छन् । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरूमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालीगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका रहेका छन् ।

यस्तै सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेका छन् । २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेका छन् भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेका छन् ।