धादिङमा १४ करोड लागतमा औद्योगिक ग्राम बन्ने

होमल्याण्ड खबर

२०७८ माघ २१ गते, शुक्रबार १५:३६ मा प्रकाशित

धादिङको निलकण्ठ नगरपालिकामा १४ करोड लागतमा औद्योगिक ग्राम बन्ने भएको छ । यसका लागि उद्योग मन्त्रालय र नीलकण्ठ नगरपालिकाबीच बिहीबार सम्झौता भएको हो । यस योजनाका लागि १४ करोड बजेट लाग्ने भए पनि चालु वर्षमा ९२ लाख रुपैयाँ मात्रै उपलब्ध गराइने जनाइएको छ । उक्त नगरपालिका वडा नं ८ स्थित रामकोट घिउरिनटारमा ५० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्नेगरी बनाइएको सम्झौतापत्रमा मन्त्रालयको औद्योगिक पुर्वाधार तथा वातावरण महाशाखा प्रमुख चन्द्रकला पौडेल र निलकण्ठका नगरप्रमुख भीम ढुंगानाले हस्ताक्षर गरेका छन् ।

औद्योगिक ग्राम पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । ग्राममा स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु तथा मझौला उद्योग स्थापना गरि युवा रोजगारी, उद्यमशीलताको विकास गर्ने लक्ष्य लिइएको छ।