१० मंसिर २०८१, सोमबार
बागमती नदीले धार परिवर्तन गरी खेतीयोग्य जमिन कटान गर्नेक्रम नरोकिँदा सर्लाहीको हजरियाका स्थानीय बासिन्दा निराश भएका छन् । जिल्लाको पश्चिमी भेगको हजरिया र राजघाटको सीमामा पर्ने खर्साल घाटबाट दक्षिणतर्फ नदीले यस वर्षमात्रै झण्डै पाँच सय बिघा खेतीयोग्य जमिन कटान गरिसकेको स्थानीय किसानले बताएका छन् ।
बाढी पसेर किसानले लगाएको उखु, बदाम, हर्दीलगायतका बालीनालीमा समेत क्षति पु¥याएको छ । भरपर्दो तटबन्ध नहुँदा नदी बस्ती भएको तर्फ नै सोझिएको स्थानीय महेश बरालले जानकारी दिए । नदी गाउँतर्फ सोझिएको छ, बरालले भने, ‘तत्काल तारजाली र भरपर्दो तटबन्धको व्यवस्था नगरे साविकका हजरिया, मानपुर र सुन्दरपुर चोहर्बा गाउँ जतिबेला पनि डुब्न सक्छ । ’ बाढीकै त्रासले स्थानीयलाई निद्रा लाग्न छाडेको बरालले जनकारी दिए ।
खेतीयोग्य जमिनको कटान रोक्न बरहथवा नगरपालिकाले केही महिनाअघि ३० लाख रुपियाँ खर्चेर खर्सालघाटमा एउटा बे्रकर निर्माण गरेको छ तर बे्रकर निर्माण गरेको ठाउँभन्दा दक्षिणबाट नदीले खेतीयोग्य जमिन बगाइरहेको छ । नदी बस्ती नजिकै आएकाले पानीको बहाव बढेको बेला साविकको हजरिया गाविस वडा नं. १, ३ र ४ का गाउँ डुबानको खतरामा रहेको स्थानीय बताउँछन् ।
बरहथवा नगरपालिका १ हजरियाका वडाध्यक्ष रत्नबहादुर गिरीले तटबन्ध निर्माणका लागि विभिन्न निकायमा पहल गरे पनि बजेट अभाव रहेको बताउने गरिएको गुनासो गरे । तटबन्ध निर्माणका लागि पुग्नुपर्ने सबै ठाउँमा पुगिसक्यौँ, वडाध्यक्ष गिरीले भने, ‘सबैतिरबाट बजेट छैन भन्ने जवाफ मात्रै आउँछ, हामीसँग तटबन्ध निर्माणका लागि पुग्ने बजेट पनि छैन । ’ नदीको विभिन्न ठाउँमा जनताको तटबन्ध कार्यालयमार्फत तटबन्ध निर्माण गरिरहेका ठेकेदारले पक्की तटबन्ध निर्माण गर्नुपर्ने ठाउँमा बोरामा गिट्टी, बालुवा र माटो भरेर थुपारेका वडाध्यक्ष गिरीले बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तटबन्ध निर्माणको कामलाई फटाफट पूरा गराउन सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी दिए तर आफूलाई पनि बजेट अभाव रहेको जवाफ आइरहेको प्रजिअ पोखरेलले बताए । उनले स्थानीय तहलाई समेत तत्काल मानव बस्तीलाई डुबानबाट जोगाउन अस्थायी तटबन्ध निर्माणको काम गर्न भनेको बताए ।