जावलाखेल, पाटन दरबार स्क्वायर र पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा

होमल्याण्ड खबर

२०७८ फाल्गुन २० गते, शुक्रबार १४:३० मा प्रकाशित

ललितपुर महानगरपालिकाले महानगरको जावलाखेल,पाटन दरबार क्षेत्र र पुल्चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । ललितपुर महानगरपालिकाले शुक्रबार पाटन दरबार चोकमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका तीनवटै क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै ललितपुरका मेयर चिरीबाबु महर्जनले कोभिड–१९ को सङ्क्रमण फैलिन थालेपछि योजना बनाएको झण्डै दुई वर्षपछि कार्यान्वयनमा आएको जानकारी दिए । जिल्लाले तोकिएको तीनवटा क्षेत्रमा एक साता धुम्रपान नगर्न आग्रह गर्ने र ती क्षेत्रमा धुम्रपान गरेको पाइएमा जरिवाना गरिने उनले बताए । उक्त जरिवानाबाट उठेको राजस्व क्यान्सरका बिरामीको उपचारमा खर्च गरिने पनि जानकारी दिए ।

सरकारले विभिन्न ऐन बनाए पनि कार्यान्वयन हुन नसकेको भन्दै मेयर महर्जनले कुनै पनि लापरवाही नगरी कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।