१ जेष्ठ २०८३, शुक्रबार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा सडक सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ। होलीका दिनमा काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाउने तयारी गरिएको महाशाखाले जानकारी दिएको छ।
होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरण गर्न सडकमा ट्राफिक प्रहरीको संख्या बढाइएको हो। होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक ईकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएका छन्।


‘होलीमा सवारी व्यवस्थापनको विभिन्न चुनौतीको विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ,’ एसएसपी उमेश राज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ।’
होलीमा मोटरसाइकलमाथि विशेष निगरानी गरिने महाशाखाको भनाइ छ। तीव्र गतिमा सवारी चलाउने र जिकज्याक गरी चलाउने, मादक पदार्थ सेवन गरी हुइँक्याउने, हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउनेजस्ता गतिविधि हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने तयारी गरिएको उनले बताए। लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउनेहरूमाथि पनि निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ।
महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरु गर्ने भएको छ। बिहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली पर्व मनाइँदैछ।