इन्टर मिलानलाई शुरुमै धक्का

होमल्याण्ड खबर

२०७५ भाद्र ४ गते, सोमबार १३:०० मा प्रकाशित

गएको सिजन कीर्तिमानी अंकसहित लिग च्याम्पियन बनेको म्यानचेस्टर सिटीले यो सिजनमा पनि बलियो देखिएको छ । पहिलो खेलमा २–० को जित निकालेको म्यानचेस्टर सिटीले लिग अन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा गोलको वर्षा गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले आधा दर्जन गोल गरेको छ । सिटीले हडर्ल्सफिल्ड टाउनलाई ६–१ ले हराएको छ ।

पहिलो हाफमा तीन गोल गरेर एक गोल खाएको सिटीले दोस्रो हाफमा थप दुई गोल ग¥यो भने एउटा उपहार गोल पायो । सिटीको शानदार जितमा सर्जियो अग्युरो नायक बने । उनले ह्याट्रिक गरे ।

इटालियन सिरी ए फुटबलको जारी सिजनमा इन्टर मिलानलाई शुरुमै धक्का लागेको छ । लिग अन्तर्गत यो सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति इन्टर मिलान तुलनात्मक रुपमा कमजोर ठानिएको सासुओलोसँग १–० ले पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा २७ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सासुओलोका दोमेनिको बेरार्दीले गोल गरे । बेरार्दीको गोल नै सासुओलोको जितका लागि निर्णायक बन्यो ।

अर्को बलियो टिम रोमाले भने तोरिनोलाई १–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ ।