पल शाह प्रकरणमा अदालतमा ११७ प्रमाण तथा कागजात पेश

होमल्याण्ड खबर

२०७८ चैत्र १० गते, बिहीबार १३:०६ मा प्रकाशित

चैत्र १०-१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ ।

सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ ।

प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश गरिएको छ । घटनाका सम्बन्धमा देख्ने तथा सुन्ने १६ जना पनि सवुत प्रमाणका रुपमा उल्लेख गरिएको छ ।

यस्तै वास्तविक नाम थर गोप्य राखिएको बन्दी खाम, बयान तथा अडियो भिडियो राखिएको डीभीडी, पीडितको हस्तलिखित कागज पनि समावेश गरिएको छ । यस्तै घटनास्थलको मुचुल्कासहित सम्बन्धित विवरण र प्रमाण गरी ११७ वटा कागजात पेश गरिएको छ ।