होमल्याण्ड खबर
२०७८ चैत्र ११ गते, शुक्रबार १२:५३ मा प्रकाशित
सुनाकोठी–चापागाउँका स्थानीय केही दिनयता सडक बन्द गर्दै मुर्दावादको नारा लगाउन बाध्य भएका थिए । उनीहरूले चुनाव आउन लागेकोले कुनै दलको विपक्षमा नारा जुलुस भने गरेका थिएनन् । वर्षौँसम्म उनीहरू सडकको धुलो र हिलोबाट आजित थिए ।
हिउँदमा धुलोले खपिनसक्नु हुन्थ्यो भने वर्षायममा हिलोले सवारी दुर्घटना भइरहन्थ्यो । घरबाट बाहिर निस्केर हिँडिसक्ने अवस्था थिएन । सडक कालोपत्रे गरेको ६ महिना पनि नटिक्ने, विस्तारका लागि सडक भत्काउने तर समयमा मर्मत नगर्ने ठेकेदारको कामबाट उनीहरू हैरान थिए । हद पार भएपछि उनीहरूले सडक छिटो सुधार गर्न माग गर्दै सडकमा बाँस, काठका मुठा तेर्साए, सडक अवरोध गरेर काम नगर्ने ठेकेदार विरुद्ध नाराबाजी गरे ।
उनीहरूले सडक अवरुद्ध गरेपछि बल्ल सरोकारवाला सरकारी निकाय र ठेकेदारले सुनाकोठी सडकको काम गर्न थालेका छन् ।अहिले स्थानीय मिलेर सडक आन्दोलन गरेपछि बल्ल सडकको काम होला कि भन्ने उनीहरूले आशा गरेका छन् । समयमा सडक बनेन भने फेरि आन्दोलन गर्नुको विकल्प छैन ।