आज विहानदेखि जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा शुरु

होमल्याण्ड खबर

२०७८ चैत्र २० गते, आईतवार १०:२३ मा प्रकाशित

जयनगर–कुर्था रेल्वे खण्डमा आज विहानदेखि यात्रुसहितको रेल सेवा शुरु भएको छ । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। उनका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको छ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ । जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए ।