९ मंसिर २०८१, आईतवार
इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलियाले एकदिवसीय महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। न्यूजिल्याण्डको क्रिस्टचर्चमा भएको फाइनलमा इंग्ल्याण्डलाई ७१ रनले हराउँदै अष्ट्रेलियाले सातौँ पटक विश्वकपको उपाधि उचालेको हो।
इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५६ रन बनाएको थियो। अष्ट्रेलियाका लागि एलिस्सा हेल्यी एक्लैले १७० बनाइन्। १३८ बलको सामना गरेकी उनले २६ चौका हिर्काइन्। यस्तै राचल हेयन्सले ६८ र बेथ मुनीले ६२ रन जोडिन्।
बलिङतर्फ इंग्ल्यान्डकी अन्या श्रुब्सोले सर्वाधिक तीन विकेट लिइन्।
३५७ रनको विशाल लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको इंग्ल्याण्डले ४३ ओभर ४ बलमा अलआउट हुँदै २८५ रन मात्रै बनाउन सक्यो। उसका लागि नाट सेभरले १४८ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन सकिनन्।
अष्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले सर्वाधिक तीन–तीन विकेट लिए।
अष्ट्रेलियाले यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ उपाधि जितेको थियो।