तीन डीआईजीको मुद्दा आज पनि अलपत्र, फेरि हेर्न नमिल्नेमा

होमल्याण्ड खबर

२०७८ चैत्र २१ गते, सोमबार १३:३० मा प्रकाशित

प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिट सर्वाेच्च अदालतमा आज पनि अलपत्र परेको छ । आइतबार र सोमबार लगातार दुई दिन नै रिट न्यायाधीस कुमार रेग्मीको इजलासमा परेको थियो । आइतबार नै रेगमीको इजालसमा रिट परेपछि हेर्न नमिल्ने भएपनि सोमबार फेरि दोहोराएर रेगमीकै इजालसमा रिट परेको थियो ।

त्यसपछि उक्त रिट आज पनि हेर्न नमिल्नेमा परेको हो । बढुवामा सिनियरलाई छुटाएर जुनियर बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सरकारविरुद्ध बिहीबार रिट दर्ता गराएका थिए । डीआईजीहरुले लोकसेवा आयोगको बढुवा पुनरावलोकन समितिमा पनि उजुरी दिएका थिए । उक्त समितिले बढुवा समितिको निर्णय सदर गर्ने निर्णय गरेको थियो । तर यो निर्णय न्यायसंगत नभएको जिकिर उनीहरुले रिटमा गरेका छन् ।

रिट निवेदनमा शैक्षिक योग्यता अनुसार पाउनुपर्ने अंक समेत नजोडिएको विषय र बढुवा भएकामध्ये दुईजना प्रहरी सेवा कालमा अनुशासनको कारबाहीमा परेको र निलम्बन समेत भएको विषयसमेत उठान गरिएको छ ।