प्रधानमन्त्री देउवाले गरे चोभार सुक्खा बन्दरगाहको उद्घाटन

होमल्याण्ड खबर

२०७८ चैत्र २२ गते, मंगलवार १६:४२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह उद्घाटन गरेका छन् । चोभारमा एक कार्यक्रमबीच प्रधानमन्त्रीले बन्दरगाह उद्घाटन गरेका हुन् ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो ।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्व बैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो ।

निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

बन्दरगाह उदघाटन गर्दै प्रधानमन्त्री देउवाले वैदेशिक व्यापारलाई प्रतिस्पर्धी र व्यवस्थित हुने विश्वास व्यक्त गरे । उनले सीमामा रहेका भन्सार कार्यालयलाई स्तरोन्नती गर्ने कार्यलाई तीब्रता दिएको बताए ।

यस्तै देउवाले चोभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताएका छन् । चोभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।

चोभार बन्दरगाह सञ्चालन पछि काठमाडौं अब अन्तर्राष्ट्रिय व्यापारको हब बन्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘यो बन्दरगाहले व्यापारलाई सरलीकरण र पारदर्शी बनाउने छ । गुणस्तरीय व्यापर पूर्वाधारले सबैलाई लाभ पुग्नेछ । हाम्रो वैदेशिक व्यापार थप व्यवस्थित प्रतिस्पर्धात्मक बन्नेछन्’ प्रधानमन्त्री देउवाले भने ।

सरकारले यस्तो पूर्वाधार मुलुकभर आवश्याकता अनुसार बनाउने प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपाली वस्तु विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि यस्तो पूर्वाधार आवश्यक रहेको बताए । उनले भने, ‘रेल आवश्यक छ तर धेरै खर्च लाग्न सक्छ । दातृ संस्थासँग सस्तो व्याज वा ग्राण्टमा रेल ल्याउने विषयमा पनि हामी सल्लाह गर्छौं ।’