८ मंसिर २०८१, शनिबार
यती एयरलाइन्स र तारा एयर मर्ज भएर एउटै कलसाइन नाममा उड्ने भएका छन् । आङछिरिङ शेर्पाको लगानी रहेको दुवै एयरलाइन्सलाई मर्ज गरेर एउटै नाममा सञ्चालनमा ल्याउन लागिएको हो । सन् २००९ बाट विकट र दुर्गम क्षेत्रमा उडान गर्न भन्दै यति एयरलान्सबाट छुट्याएर तारा एयरको नाममा सञ्चालन गरिएको थियो ।
सन् १९९८ बाट व्यावसायिक उडान सुरु गरेको यति एयरलान्सले सन् २००९ मा तारा एयर भगिनी संस्थाको रुपमा स्थापना गरेको थियो । यती एयरलान्सले सुगम क्षेत्रमा उडान गर्दै आएको छ । भने तारा एयरले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ । कम्पनीको उद्देश्यनै गाउँको सहयोगी एयरलाइन्स भनेर स्थापना गरिएको थियो ।
विगतमा विकट क्षेत्रमा दुर्घटना अत्याधिक भएपछि पुनर्बिमा कम्पनीहरुले अत्याधिक रकम बढाएपछि तारा एयरको नाममा नयाँ एयरलाइन्स कम्पनी खडा गरिएको थियो । भने अन्तर्रा्ष्ट्रिय स्तरमा यती एयरलाइन्सको शाखसमेत गिरेको भन्दै सुधारका लागि भगिनी संस्थाको रूपमा तारा एयर सञ्चालनमा ल्याइएको थियो । यती समूहले छुट्याएको ८ वर्षपछि पुनः यतीमै मर्ज गरेर सञ्चालन गर्न लागिएको थियो । दुवै एयरलाइन्स मर्ज भएमा नेपालमा सञ्चालनमा रहेको आन्तरिक उडान भर्ने कम्पनीमध्ये सबैभन्दा ठूलो र सबैभन्दा धेरै विमान हुनेछन् ।
“विगतमा दुर्घटनादर बढेपछि बिमा रकम बढेको र अन्तर्रा्ष्ट्रिय यात्रुमा समेत शाख गिरेपछि हामीले भगिनी संस्थाको रूपमा तारा एयर सञ्चालनमा ल्याएका थियांै,” यती एयरलाइन्सका प्रवन्धक शान्त प्रजापतिले भने । अहिले यती समूहले धेरै वर्ष लगाएर सबै सुधार गरेकाले पुनः एउटै नामबाट सञ्चालनमा ल्याउन लागेको प्रवन्धक प्रजापतिले बताए । दुई संस्थाको मर्जको प्रक्रिया सुरु गरिएको र चालू वर्ष्भित्रै यती एयरलाइन्सको नामबाट तारा एयर पनि सञ्चालनमा आउने प्रजापतिले जानकारी दिए । मर्ज भए पनि तारा एयरका साना जहाज भएकाले दुर्गम क्षेत्रमा नै उडान भर्ने समेत उनले स्पष्ट पारे । जहाज दुर्घटना हुने तर प्रिमियम यति भएपछि सबैलाई ६ प्रतिशतसम्म पर्न गएपछि कम्पनी छ्ुट्याइएको थियो । “अहिले तालिम र प्रविधिमा करोडौं खर्चिएर सुधार गरेकोले अब मर्ज गर्दा समस्या नहुने भएकाले यतीकै नाममा सञ्चालन गर्न लागेका हौं,” प्रजापतिले भने ।
हाल यती एयरलाइन्सले ८ वटा विमानमार्फत १० वटा गन्तव्यमा उडान भर्दै आएको छ भने तारा एयरले ६ वटा विमानमार्फत १४ वटा गन्तव्यमा उडान भर्दै आएको छ । दुइटा संस्था मर्ज भएपछि यति एयरलाइन्ससँग १४ वटा विमान हुने छन् । आन्तरिक उडानमा सबैभन्दा अब्बल बुद्ध एयरसँग हाल ११ वटा विमानले १५ गन्तव्यमा उडान भर्दै आएको छ ।
यतीसँग २ वटा एटिआर ७२–५०० सिरिज, ६ वटा जेटस्ट्रिम–४१ गरी ८ वटा विमान रहेका छन् । भने तारासँग डोर्निएर २२८ सिरिजका २ थान, ट्वीनटर डिएचसी ६–३०० सिरिजका ३ थान र डिएचसी ६–४०० सिरिजका १ थान गरी ६ वटा जहाज छन् ।
तारा एयरले हाल नेपालगन्ज, पोखरा, भोजपुर, बाजुरा, डोल्पा, जोमसोम, जुम्ला, लुक्ला, लामिडाँडा, फाप्लु, रारा, रुम्जाटार र सिमिकोट उडान गर्दै आएको छ । यता यती एयरलाएन्सले भने सुगम क्षेत्र भद्रपुर, भैरहवा, विराटनगर, जनकपुर, नेपालगन्ज, पोखरा र तुम्लिङटार उडान गर्दै आएको छ ।