३१ बैशाख २०८३, बिहीबार
सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको हो ।
महाशाखाको पोषण शाखाका प्रमुख लिला थापाले देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको बताए । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउने जनाइएको छ ।


भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या देखापर्ने हुन्छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।
यो कार्यक्रमका लागि ६ करोड ७१ लाख लाग्ने आंकलन गरेको महाशाखाको पोषण शाखाका प्रमुख थापाले जानकारी दिए ।