८ मंसिर २०८१, शनिबार
सरकारी मातहतको मूल्य स्थिरीकरण कोष रित्तिएपछि नेपाल आयल निगमले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिन प्रक्रिया अघि बढाएको छ । कोष पनि रित्तिएपछि निगमले ऋण लिनका लागि प्रक्रिया अघि बढाएको हो । जसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकबाट निगमले दुई अर्ब रुपैयाँ ऋण लिँदैछ ।
निगमका सहप्रवक्ता पुस्कार कार्कीले पेट्रोलियम पदार्थको खरिदवापत आवश्यक रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई कठिन भएको जानकारी दिनुभयो ।
आईओसीबाट पछिल्लो समय प्राप्त मूल्यसूची र हालको इन्धन मागअनुसार प्रतिमहिना नोक्सानी ७ अर्ब ४७ करोड रहेको निगमले जनाएको छ । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १८ रुपैयाँ १६ पैसा, डिजेलमा ३० रुपैयाँ ५ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५१ रुपैयाँ नोक्सान छ ।
हवाई इन्धन र मट्टितेलमा भने फाइदा रहेको निगमले जनाएको छ । बजारमा हाल पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टिटेल १४३ रुपैयाँ तोकिएको छ । निगमले ४ दिनपछि आईओसीलाई रकम भुक्तानी गर्दैछ ।