११ मंसिर २०८१, मंगलवार
परराष्ट्रविद् तथा अर्थ्विद्हरूले यही भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंमा बिहीबार गरिएको साक्षात्कारमा उनीहरूले शिखर सम्मेलन नेपालका लागि अवसर भएकोसमेत बताए ।
परराष्ट्रविद् डा. दिनेश भट्टराईले सम्मेलनमार्फत नेपालले आफ्नो मुलुकको अन्तर्रा्ष्ट्रिय व्यक्तित्व उजागर गर्नुपर्ने बताए । “नेपालका लागि बिमस्टेकका सदस्यहरूमा विश्वासमा आधारित सम्बन्ध अघि बढाउन यो महत्वपूर्ण अवसर हुनेछ,” उनले भने, “नेपालले सोही अनुसारको आफ्नो तयारी गर्नुपर्छ ।” उनले सन् २०१४ मा मुलुकमा संक्रमणकाल हुँदा पनि सफल रूपमा सार्क सम्मेलन सम्पन्न गरेको उदाहरण दिँदै अहिले चुनावपछिको परिवर्तित अवस्थामा नेपालले बिमस्टेकको शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएकाले मुलुकको हितमा उपयोग गर्नुपर्ने बताए ।
“नेपालको विदेश नीतिबारे हामी सबै एकमत छौं, कोही कसैमा पनि विमति छैन भन्ने सन्देश दिनुपर्छ,” उनले भने, “राजनीतिक स्थायित्व कायम भइसकेकाले अब हाम्रो प्रमुख प्राथमिकता विकास र समृद्धि हो भन्ने उनीहरूलाई बुझाउनुपर्छ ।” उनले बिमस्टेकलाई क्षेत्रिय संगठनको रूपमा मात्र नराखी यसको क्षेत्र र दायरा बुझाउनसमेत सुझाव दिए ।
डा. भट्टराईले बिमस्टेकको शिखर सम्मेलनमार्फत नेपालले आफ्नो देशका प्राथमिकताहरू सार्वजनिक गर्न सक्नुपर्ने बताए । बिमस्टेक क्षेत्रका घटनाको सही विश्लेषण गर्न उनले सुझाव दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थ्विद् डा. डिल्लीराज खनालले समयको हिसाबले पनि बिमस्टेक शिखर सम्मेलन नेपालका लागि अतिनै महत्वपूर्ण रहेको बताए । “अहिले नेपालका लागि समय र सन्दर्भको हिसाबले पनि बिमस्टेक शिखर सम्मेलन अतिनै महत्वपूर्ण छ,” उनले भने, “नेपालले पाएको अवसर राष्ट्रको हितमा उपयोग गर्नुपर्छ ।”
सार्वजनिक खर्च पुनरावलोकन आयोगका संयोजकसमेत रहेका खनालले यो सम्मेलनमार्फत नेपालले हामी समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा अघि बढ्दैछौं भन्ने सन्देश दिनुपर्ने बताए । “बिमस्टेकले तय गरेका विभिन्न १४ वटा प्राथमिकताका क्षेत्र र विषयमा हामीले मुलतः व्यापार, उर्जा, कृषि, प्रविधि र गरिवी निवारणमा अधिकतम केन्द्रित हुनुपर्छ,” उनले भने, “हामीले खास–खास विषय पहिल्याउनुपर्छ, जसले सबैको विन–विनको अवस्था होस् ।” उनले लगानी भिœयाउनका लागि यो सम्मेलनको सही सदुपयोग गर्नुपर्ने सुझाव दिए । डा. खनालले बिमस्टेक र सार्कलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने बताए ।
पूर्वसचिव पुरुषोत्तम ओझाले १४ वर्षको इतिहासमा बिमस्टेकले खासै प्रगति नगरे पनि अहिले आएर गति लिएको भन्दै अब यो गतिमा ब्रेक लाग्न नहुने धारणा राखे । “ठूला राष्ट्रहरूको रणनीतिक स्वार्थका कारण यो त्यति राम्रोसँग अघि बढ्न सकेन । अहिले यसले गति लिएको छ । अब यो गतिमा कुनै ब्रेक नलागोस्,” उनले भने, “बिमस्टेकको सुरुवातदेखि अहिलेसम्म आइपुग्दा ६, ८ हुँदै १४ वटा सहयोगका क्षेत्र पहिल्याएकाले ध्यान विकेन्द्रीकरण भयो, अब उपलब्धि हासिल गर्ने गरी क्षेत्रहरू पनि अब कन्सोलिडेट गर्नुपर्छ ।” उनले वस्तु व्यापारसम्बन्धी सम्झौता सन् २००५ मै भए पनि अहिलेसम्म यसबारेमा खासै प्रगति नभएको स्पष्ट पारे ।