एमाले भक्तपुरले चारवटै नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम टुंग्यायो

होमल्याण्ड खबर

२०७९ बैशाख १२ गते, सोमबार १२:२६ मा प्रकाशित

नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको हो ।

एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोर्‍याएको छ । सूर्यविनायक नगरपालिकाको प्रमुखमा पुनः वासुदेव थापालाई उठाएको छ भने उप प्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा एमालेले पुरानै उम्मेदवारलाई मदनसुन्दर श्रेष्ठलाई पुन दोहोर्‍याउने निर्णय गरेको छ भने उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुख रहेकी विना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ भने उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाईँ खर्बुजालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।