१० मंसिर २०८१, सोमबार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आज कार्यक्रम गरी ६ खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो । आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका दिपक गौतम, करातेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सिमा राजवंशी, करातेका बिष्णु नेपाली र एथलेटिक्सका जितबहादुर केसी छन् ।
कोषले घुँडाको चोटको उपचार गराईरहेकी रियालाई ६३ हजार ९२९ रुपैयाँ, सोल्जर चोट बोकेका दिपकलाई ८७ हजार ९ सय १४ रुपैयाँ र घुँडामा चोट लागेको कोपिलालाई ७५ हजार रुपैयाँ, घुँडाकै चोट बोकेकी सिमालाई ८० हजार रुपैयाँ, पक्षघात भएका बिष्णुलाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
यस्तै एथ्लेटिक्सको गर्ने सफा गर्ने क्रममा हातको चोट बोकेका जित बहादुरलाई १ लाख २५ हजार सहयोग प्रदान गरिएको हो । सबै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले चेक हस्तान्तरण गरेका हुन् ।