आजदेखि १८ घण्टा आन्तरिक उडान हुने

होमल्याण्ड खबर

२०७९ बैशाख १५ गते, बिहीबार १०:३५ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ। विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै आज (बिहीबार)देखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको हो । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड-१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ। यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ। विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कुल ४२० उडान भइरहेको छ । नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन्। नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ। छिमेकी मुलुक भारत र चीन तथा एसिया प्रशान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन्। पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती बेहार्दै आइरहेका छन्।

वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड-१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन। महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद् पक्ष हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ।