६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार १०:५४ मा प्रकाशित

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै, ७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए । त्यस्तै, ३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको उनले बताए ।

सोहीअनुसार आचारसंहिताको प्रावधान विपरित उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न आयोगले आग्रह गरेको छ ।

गलत, भ्रामक,चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्षरुपमा असर पार्ने गलत सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकाले यस्ता प्रकृतिका काम नगर्न नगराउन आयोग चेतावनी दिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।