विवाद समाधानका लागि एन्फा कार्यसमिति बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ बैशाख २५ गते, आईतवार १२:१६ मा प्रकाशित

राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षक विवादसम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आइतबार बस्दै छ । गत बिहीबार एन्फा सचिवालयले कार्यसमिति सदस्यहरुलाई पत्रचार गर्दै आज आइतबार दिउँसो २ बजे बैठक उपस्थित हुन आग्रह गरेको थियो ।

पत्रमा राष्ट्रिय पुरुष टिमको सम्बन्धमा छलफल गर्न आवश्यक रहेको हुँदा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा कार्यसमितिको बैठक बस्न लागिएको उल्लेख छ ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै रोहित चन्दसँगै, विमल घर्तीमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरुले प्रशिक्षण छोडेका थिए ।