निर्मला पन्तको परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने

होमल्याण्ड खबर

२०७५ भाद्र ११ गते, सोमबार १३:२१ मा प्रकाशित

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्त र सनी खुनाको परिवारलाई भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका छन् । कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो भने हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।

आइतबार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टलगायतका नेताहरु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेर परिवारसँग भेट गरेका थिए । केन्द्र सरकारले पनि पन्त र खुनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो ।