डा.महतले भने, कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ

होमल्याण्ड खबर

२०७९ बैशाख २७ गते, मंगलवार १३:११ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–४ ले आज आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले काठमाडौं महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गरेका हुन् ।

प्रवक्ता डा महतले नेकपा सरकारले आफ्नो पञ्चवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गरे । कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उनको भनाइ छ ।
कांग्रेस काठमाडौं महानगरपालिका–४ का सभापति एवं स्थानीय निर्वाचनमा काठमाण्डां महानगरपालिका–४ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद न्यौपानेले अनुशासित र भ्रष्टाचाररहित वडा निर्माण आफ्नो मुख्य अभियान भएको बताए । सोही वडामा कांग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिएका छन् ।