घराना काबरा ग्रुरुपद्वारा ७० करोडको लगानीमा चाउचाउ उत्पादन सुरु

होमल्याण्ड खबर

२०७५ भाद्र १२ गते, मंगलवार १०:५३ मा प्रकाशित

विराटनगरको प्रतिष्ठित औद्योगिक घराना काबरा समूहले ७० करोड रुपैयाँको लगानीमा चाउचाउ उत्पादन सुरु गरेको छ ।
मोरङको हात्तीमुडामा उधोग स्थापना गरी उत्पादित चाउचाउ आइतबारदेखि बजारमा पठाएको छ । बिस्कुट उत्पादनमा सफल भएपछि काबरा ग्रुपले चाउचाउ उत्पादनतर्फ ध्यान मोडेको छ । मुलुकमा संविधान जारी भई तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गर्न थालेसँगै लगानी थपिन थालेको छ । राजनीतिक संक्रमणका कारण लामो समय मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना हुन सकेको थिएन ।

पछिल्लो समय नयाँ उधोग स्थापना हुने क्रम पनि बढेको छ । केही वर्र्षिभत्रै विदेश निर्यात गर्ने उद्देश्यसहित उत्पादन सुरु गरिएको ७० ग्रामको ‘रोमियो’ र ५५ ग्रामको ‘ज्याकपट’ बजारमा ल्याएको हो । १५ रुपैयाँ पर्ने ‘रोमियो’मा एक पिस कान्छा चोकोकिड्स र १० रुपैयाँ मूल्य तोकिएको ‘च्याकपट’मा एक पिस ठूलो चकलेट राखिएको सञ्चालक श्याम काबराले बताए । काबरा समूहका संरक्षक गणपतलाल काबराले दुवै ब्रान्डको चाउचाउको बिक्री शुभारम्भ गरे । क्वालिटी बिस्कुटको नारा ‘बाँडेर खाऊँ माया बढ्छ’ नारा चाउचाउमा पनि प्रयोग गरेको छ ।

बजारमा आएको चाउचाउलाई स्थापित गर्न ग्रुपका नवलकिशोर काबरा, श्याम काबरा, राजेश काबरा, शरद काबरा, श्रीधर काबरा, सिद्धार्थ काबरा, मिलिन्द काबरा, रामनिवास काबरा सक्रियताका साथ लागेका छन् । “समयअनुसार हामी जसरी नयाँ–नयाँ उत्पादनका साथै केही न केही फरक तरिकाले ल्याउने गरेका छौं,” शुभारम्भ कार्यक्रममा सञ्चालक काबराले भने, “यतिमात्रै होइन हामीलाई आवश्यक पर्ने सम्पूर्ण पेपर आफैं प्रिन्ट गर्छौं ।”

चाउचाउका लागि आवश्यक पर्ने मसला नेपाललगायत सिंगापुर र भारतबाट आयात गर्ने नवलकिशोर काबराले जानकारी दिए । केही समयअगाडि ‘निकनक’ ब्राण्डको चाउचाउ बजारमा ल्याएको थियो । अब काबरा ग्रुपले उत्पादन गरेको तीनवटा ब्रान्डका चाउचाउ बजारमा पुगेको छ । उधोगमा ३ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । हालसम्म ७० करोड लगानी भएको उद्योगमा बजार व्यवस्थापनका लागि थप लगानी हुने काबराले बताए । “एकपटक कसैले यो चाउचाउ खायो भने सधैं नै यही चाउचाउ खान्छ,” उनले भने, “यसको विशेषता भनेकै फरक स्वाद हो ।”

३३ वर्षदेखि निरन्तर रूपमा बिस्कुट उत्पादन गर्दै आएको छ काबरा ग्रुपले । थिन आरारोट, गाई छाप ग्लुकोजजस्ता बिस्कुटहरू उत्पादन गरी सञ्चालन गरिएको उद्योगले समयअनुसार टेस्टीटेस्टी, बनबन, बटर क्रेकर, मर्निङ टच, डाइजेस्टिभजस्ता उच्च गुणस्तरीय बिस्कुट उत्पादन गर्दै आएको उनले बताए । यस्तै चकलेट, वेफर्सर स्न्याक्सहरू पनि उत्पादन गर्दै आएको छ । जसमध्ये चोकोकिड्स, डबल डक र हट्के झट्के उत्पादन बढी उपभोक्ताले रुचाएको सञ्चालक काबराको भनाइ छ । “उपभोक्ताको चाहनाअनुसार चाउचाउको उत्पादन सुरु गरेका हौं,” नवलकिशोरले भने, “यो उत्पादनलाई उपभोक्ताले विस्कुटलाई जस्तै अवश्य पनि मन पराउनुहुनेछ ।”