वीरगञ्जमा कांग्रेसको विजयी र्‍यालीमा एमालेको आक्रमण

होमल्याण्ड खबर

२०७९ जेष्ठ ६ गते, शुक्रबार १२:२० मा प्रकाशित

वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो । सो क्रममा नेकपा एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले र्‍यालीमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

आक्रमणमा परी ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ४ जना उपचारपछि घर फर्किए सकेका छन् भने महम्मद मियाँ र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।