३१ बैशाख २०८३, बिहीबार
जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले पाण्डेमाथि अनुसन्धानका लागि अदालतले सोमबार ५ दिनको म्याद दिएको रातोपाटीलाई बताए । शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो ।
सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयानसमेत दिइसकेकी छन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित पनि भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको थियो ।

