काठमाडौंको मतदाताले मेयरमा बालेनलाई जिताएर, हामीलाई बदलिन सन्देश दिए: महामन्त्री शर्मा

होमल्याण्ड खबर

२०७९ जेष्ठ १३ गते, शुक्रबार ११:३५ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्। उनले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै आफूहरू बदलिनुपर्ने उल्लेख गरेका हुन्।

बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ आज ट्वीट गर्दै शर्माले भने। उनले जनताको काममा जनप्रतिनिधिलाई सघाउनुपर्ने पनि बताए।

बालेनको जितमा जनताले आशा देखेको पनि शर्माको भनाइ छ। ‘बालेनको विजय हाम्रो पराजय मात्र होइन उनीप्रति आशा र विश्वासको जित पनि हो,’ उनले भने, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आँखो पर।’

मुख्य दलको शैली र प्रस्तुतीप्रति मतदाता असन्तुष्ट रहेको देखिएको पनि शर्मा बताए।

‘बदलिएको समयअनुसार आफूलाई बदल्नु हामी राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो। काठमाडौंमा बालेनको विजयले हामीलाई यसका लागि जबरजस्त दबाब सकरात्मक ढंगले दिएको छ,’ उनले भने।