यूनाइटेड इन्स्योरेन्सद्वारा मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी

होमल्याण्ड खबर

२०७९ जेष्ठ २४ गते, मंगलवार १०:४२ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल) लि. को २८ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको छ ।

सभाबाट आर्थिक वर्ष २०७८।७९ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्व गर्ने ४ (चार) जना सञ्चालकहरूको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरूको निर्वाचन मार्फत चयन गरिएको छ ।

कम्पनीको चुक्ता पुँजी रु २ अर्ब ५० करोड पुर्‍याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।