नेपाल आईपुगे अमेरिकी सेनाका एसिया-प्रशान्त प्रमुख फ्लिन

होमल्याण्ड खबर

२०७९ जेष्ठ २६ गते, बिहीबार १५:१५ मा प्रकाशित

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स एन्थोनि फ्लिन काठमाडौं आइपुगेका छन् । उनी भारतको नयाँ दिल्लीहुँदै मध्यान्ह १२ बजे काठमाडौं आएका हुन् ।

अमेरिकी सेनाको विशेष जहाजमा आउने भनिएपनि फ्लिनको टोली इन्डिगो एयरको नियमित उडानबाट काठमाडौं ओर्लिएको हो । केही दिनअघिदेखि जारी खराब मौसमका कारण अमेरिकी टोलीले चार्टर फ्लाइट रद्ध गरी नयाँ दिल्लीबाट नियमित फ्लाइटमा आएको विमान स्थलस्थित नागरिक उड्‍डयन कार्यालय स्रोतले बताएको छ।

सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सैनिक अधिकारी फ्लिन काठमाडौं आइपुगेको पुष्टि गरे । केही दिनअघि भारतको नयाँ दिल्ली आएका जनरल फ्लिनले त्यहाँ भारतीय सेनाध्यक्ष मनोज पाण्डेलगायत उच्च अधिकारीसँग भेट गरेका थिए । नेपाल आउनुअघि उनले बिहीबारै बिहान कोलकातास्थित भारतीय सेनाको पूर्वी कमान्डको अवलोकन भ्रमण गरेका थिए।

फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाका उच्च अधिकारी नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जनरल फ्लिनले विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग भेटने कार्यक्रम पनि तय भएको छ।