ओहोदाको प्रमाणपत्र नबुझाउँदै राजदूतहरु औपचारिक भेटघाटमा

होमल्याण्ड खबर

२०७९ जेष्ठ २७ गते, शुक्रबार १४:४६ मा प्रकाशित

कुनै पनि मुलुुकको निम्ति नियुक्त राजदूतले सम्बन्धित देशका राष्ट्राध्यक्षसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत नगरेसम्म उनलाई औपचारिक रुपमा राजदूतको सम्बोधन गरिँदैन । तर काठमाडौंमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न आएका केही राजदूतले शीतल निवास छिर्नुअघि नै विभिन्न क्षेत्रसँग औपचारिक भेटघाट गरेका थिए ।

हिजो शीतल निवासमा ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम थियो । दिउँसो २ बजेदेखि भएको उक्त कार्यक्रममा चिली, जमैका, इण्डोनेसिया र स्पेनका गैरआवासीय राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

तर नयाँ दिल्लीबाट केही दिन अघि काठमाडौं आएका ती राजदूतमध्ये चिलीका राजदूतसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरुले दुई दिन अगावै औपचारिक भेटघाट गरेका थिए । यसअघि पनि एक जना भारतीय राजदूत ओहोदाको प्रमाणपत्र प्रस्तुत नगर्दै बालुवाटारको कोठा कोठामा पुगेको खबर बाहिरिएको थियो ।

त्यतिबेला प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला थिए ।