१० मंसिर २०८१, सोमबार
गौरीशंकर गाउँपालिका–१ राजपुका प्रकाश बस्नेत दशकपछि घर फर्किए । उनको नागरिकता जन्मस्थान दोलखा जुँगू भए पनि उनी रोजगारी र व्यवसायको सिलसिलामा २ दशकदेखि भारतको सिक्किम बस्दै आएका छन् ।
सोही वडा चेत्पुका वीर्खबहादुर खड्का पनि गाउँ फर्किए । उनी ४ दशकदेखि गाउँको जग्गा जमिनसमेत बेचेर तराई झरेका थिए । उनको आफ्नो नागरिकता दोलखाबाट भए तापनि उनको अरुको नागरिकता काठमाडौंबाट भए तापनि अहिले गाउँ सम्झेर फर्किए । सिक्किममै बस्ने लापिलाङका जगतबहादुर थामी हुल नै बाँधेर गाउँ फर्किए । उनीजस्ता लापिलाङका मात्र एक महिनाभित्र ३ सय बढी सिक्किम बस्नेहरू गाउँ सम्झेर फर्किए । दोलखाबाट रोजगारी र पेशा व्यवसायका लागि बाहिर बस्नेहरू गाउँ फर्कनेको लर्को नै छ ।
अधिकांश आफूसँगै आफ्ना छोराछोरी पनि साथमै ल्याए । वडा कार्यालय पुगेर जन्म दर्ता गराए त कतिले नागरिकताको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगे । यही मौकामा धेरैले पुनः नेपाली र दोलखावासी नै भएको प्रमाण लिए ।
माथिका केही प्रतिनिधि पात्रमात्र हुन् । माथिल्लो तामाकोसी जलविधुत आयोजनाको सेयर दोलखावासीका लागि खुलेदेखि परदेशिएकाहरू गाउँ फर्कने क्रम बढ्दो छ । स्थानीयका नामबाट सेयर आवेदन गर्न पाउने भएपछि दोलखावासी नै हुँ भनेर घर फर्कने बढेका छन् ।
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको आयोजनामा स्थानीयको तर्फबाट दोलखावासीले १० प्रतिशत सेयर लगानीको अवसर पाएका छन् । सेयर लगानीका लागि जिल्लाभरका नागरिकले गएको साउन १६ गतेदेखि आवेदन गरिरहेका छन् । यही अवसर पारेर दोलखावासी भएका र देशबाहिर भएकारु फर्कने क्रम जारी छ । सेयर आवेदन सुरु भए यता जिल्लाका राजनैतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीलाई विदेशबाट दिनहुँ फोन, र सामाजिक सञ्जालमा सोधनी बढेको छ । फोनमा आउने धेरैको जिज्ञासा हामीले सेयर पाउँछौं कि पाउँदैनौं, कति हाल्नु पर्छ भन्ने नै बढी छन् । “कतिले देश विदेशबाट फोन गर्छन् कतिले सामाजिक सञ्जालमार्फत सोध्छन,” शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने, “आजभोलि धेरैलाई यसैको जिज्ञासा मेटाउँदै हैरान छु, सेयर भर्न पनि सहयोग गर्नै प¥यो ।”
घरै बिर्सेकालाई समेत सम्झेर गाउँ फर्काउन सफल भएकोमा जनप्रनिधि भने खुशी नै छन् । गाउँनै बिर्सेका पनि अहिले सम्झेर आए खुसी लागेको विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काको भनाइ छ । माथिल्लो तामाकोसीमा जिल्लावासी र सर्वसाधारण नागरिकको उत्साहले यस्ता आयोजना यही मोडेलमा बनाउन सरकारले अवधारणा बनाउनु पर्ने उनले बताए । “अब देशमा पुँजीको अभाव छैन, तामाकोसीमा देखिएको उत्साहले पनि प्रष्ट पार्छ,” उनले भने, “अब कुशल व्यवस्थापनका साथ गर्ने हो भने देशका ठूलाठूला पूर्वाधारका काम स्वदेशी लगानीबाटै सम्भव हुने प्रमाणित भएको छ ।” सांसद विशाल खड्काले यो उत्साहले अब तामाकोसी पाँचौंमा ४९ प्रतिशत सेयर दोलखालीको हुनुपर्ने माग गर्ने बताए ।