९ मंसिर २०८१, आईतवार
लगातार पाँच दिन घटेर बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि ओरालो लागेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ ।
आज पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो । यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द गरेर शुक्रवार खोल्न थालेकोमा आइतबारको बिदा कटौती भएपछि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टाका लागि मात्र शेयर बजार खुलाउन थालिएको हो ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत् र विकास बैंकको शेयर दोहोरो अङ्कले घटेको छ । आज दुई सय २० वटा कम्पनीको २३ लाख ५४ हजार कित्ता शेयर ७३ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड १४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो । समग्र बजार घटे पनि आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घट्यो ।