लेनदेनको बाहिरिएसँगै बोलाइयो न्यायपरिषद्को आकस्मिक बैठक

होमल्याण्ड खबर

२०७९ असार ८ गते, बुधबार ११:४७ मा प्रकाशित

न्यायाधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपराह्न १ः३० बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो ।

उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् ।

सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका छन् । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् ।

अडियोमा न्यायाधीश कोइरालाले घुस लिने सम्बन्धमा डराउँदै ‘मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ’ भन्ने लगायतका कुरा गरिरहेका छन् । तर अधिवक्ता पोखरेलले भने ‘त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने’ आश्वासन दिएका छन् ।

बाहिरिएको अडियो टेपमा अधिवक्ता पोखरेलले सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेका छन् । यद्यपि उक्त प्रकरणमा न्यायाधीशले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका थिए ।